रोल्पामा वामपन्थी दबदबा, खस्कदो काँग्रेस

रोल्पालाई वामपन्थीको उर्वरभूमि मानिन्छ । २०४६ सालको राजनैतिक परिर्वतनपछि भएका निर्वाचन मध्ये २०५१ र २०५६ को निर्वाचन बाहेक अन्य सबै निर्वाचन वामपन्थीहरुले जित्दै आएका छन्।

२०४८ सालको संसदीय निर्वाचन रोल्पाबाट नेकपा एमाले र संयुक्त जनमोर्चाको गठबन्धनले जितेको थियो । तत्कालिन राप्ती अञ्चलका ५ जिल्लामा भएको बाम गठबन्धनमा रोल्पाका दुवै निर्वाचन क्षेत्र तत्कालिन संयुक्त जनमोर्चाको भागमा परेको थियो । उसले दुवै क्षेत्र जितेको थियो ।

प्रतिनिधि सभा क्षेत्र नं. १ बाट वर्मन बुढामगर र २ बाट कृष्णबहादुर महरा विजयी भएर रोल्पालाई वाम किल्लाको रुपमा चिनाएका थिए । देशभरका २०५ संसदीय निर्वाचन क्षेत्रमध्ये ९ स्थान जितेको तत्कालिन संयुक्त जनमोर्चा नेपालले दुवै निर्वाचन क्षेत्र जित्ने एक मात्र जिल्ला रोल्पा हो ।

तत्कालिन संयुक्त जनमोर्चा नेपालले २०५१ को मध्यवधि निर्वाचन बहिष्कार गर्दा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट राप्रपाका बालाराम घर्तीमगर र क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका सुरेन्द्र हमालले निर्वाचन जितेका थिए ।

२०५६ सालको प्रतिनिधि सभा निर्वाचन बेला नेकपा माओवादी सशस्त्र युद्धमा थियो । उसले सो चुनाव बहिष्कार गरेका कारण रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका लेखनाथ आचार्य र क्षेत्र नं. २ बाट सोही पार्टीका सुरेन्द्र हमालले चुनाव जितेका थिए ।

२०४९ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा समेत बाम गठबन्धन गरि जिल्ला विकास समिति गठन गरेका थिए । तत्कालिन संयुक्त जनमोर्चा नेपालबाट जिल्ला विकास समितिको सभापतिमा झक्कुप्रसाद सुवेदी र नेकपा एमालेका मानबहादुर बाँठा उपसभापति भएका थिए ।

२०५४ सालको स्थानीय तह भने नेकपा माओवादी सशस्त्र द्वन्द्व रहेका कारण बहिष्कार गरेको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठवन्धनले जिल्ला विकास समिति गठन गरेको थियो । नेपाली काँग्रेसबाट जिल्ला विकास समितिको सभापति अमृतबहादुर घर्तीमगर निर्वाचित हुँदा उपसभापतिमा राप्रपाका दलवीर पुन विजयी भएका थिए । उनीहरुले नेकपा एमालेसँग प्रतिस्पर्धा गरेका थिए ।

सरकार, माओवादी बीच भएको विस्तृत शान्ति संझौतासँगै द्वन्द्वरत माओवादी शान्ति प्रकृयामा आए पछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा रोल्पाका दुवै क्षेत्र नेकपा माओवादीले जितेको थियो । क्षेत्र नं. १ बाट जयपुरी घर्तीमगर र क्षेत्र नं. २ बाट पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेका थिए । प्रचण्ड रोल्पा २ र काठमाण्डौ १० बाट विजयी भएका कारण एक निर्वाचन क्षेत्र छोड्नु पर्ने व्यवस्था अनुसार रोल्पा २ छोड्दा भएको उपनिर्वाचनमा नेकपा माओवादीका सन्तोष बुढामगरले उपनिर्वाचन जितेका थिए ।

२०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ वाट कृष्णबहादुर महरा र क्षेत्र नं. २ बाट ओनसरी घर्तीमगर विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा रोल्पालाई १ प्रतिनिधि सभा र २ प्रदेश सभामा बाडिएइको थियो । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीले चुनावी गठबन्धन गरेका थिए । रोल्पाको १ प्रतिनिधि सभा र २ प्रदेश सभा नेकपा माओवादी केन्द्रको भागमा पर्दा प्रतिनिधि सभामा वर्षमान पुन र प्रदेश सभा क मा कुलप्रसाद केसी तथा ख मा दीपेन्द्र पुन विजयी भएका थिए ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको नाममा चुनाव लडेका थिए । उक्त निर्वाचनमा रोल्पाको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन र प्रदेश सभा १ मा जोखबहादुर महरा तथा प्रदेश सभा २ मा नेपाली काँग्रेसका अमरसिंह पुन गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन विजयी भएका थिए । प्रदेश सभा सदस्यमा निर्वाचित पुन नेकपा माओवादी केन्द्रको पूर्व पोलिटब्यूरो सदस्य तथा रोल्पा ईन्चार्ज हुन । उनी हाल नेकपा माओवादी केन्द्रमा फर्किसकेका छन् ।

यस वीचमा भएका दुई वटा स्थानीय तह निर्वाचनमा समेत रोल्पा वामपन्थी बाहुल्य रहेको जिल्लाको रुपमा चिनिन पुगेको छ । दश स्थानीय तह रहेको रोल्पामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र ७ र नेकपा एमाले २ गरि ९ स्थानीय तह वामपन्थीले जित्दा नेपाली काँग्रेसले १ स्थानीय तह मात्रै जितेको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र ७ र नेकपा एमाले १ सहित ८ स्थानीय तह वामपन्थीले जित्दा नेपाली काँग्रेसले २ स्थानीय तह जितेको छ ।

समानुपातिकमा बढ्दो वामपन्थी मत, खस्कदो काँग्रेस

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रोल्पामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको मत बढ्दा नेपाली काँग्रेसले मत घटाएको छ । २०७४ र २०७९ सालको प्रतिनिधि सभाको समानुपातिक तर्फ दलहरुले पाएको मतका आधारमा जिल्लामा वाम जनमत बढेको र काँग्रेसको मत घटेको देखिएको हो ।

नेकपा माओवादी केन्द्रले ४ मंसिरको निर्वाचनमा समानुपातिक तर्फ २८ हजार १५९ मत प्राप्त गरि जिल्लामा पहिलो दलको रुपमा रहेको छ । उसले प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फ खसेको मतको करिव ४२ प्रतिशत मत प्राप्त गरेको छ । २०७४ सालको निर्वाचनमा सो पार्टीले समानुपातिक तर्फ २७ हजार २२० अर्थात करिव ३९ प्रतिशत मत प्राप्त गरेको थियो । उसले २०७४ सालको तुलनामा २०७९ मंसिर ४ को निर्वाचनमा करिव ३ प्रतिशत मत बढाएको छ ।

अर्को वाम दल नेकपा एमाले रोल्पाले ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ ११ हजार ८५७ मत प्राप्त गरि जिल्लामा तेश्रो ठूलो दलको रुपमा देखिएको छ । उसले २०७४ सालको निर्वाचनमा १० हजार ५४५ मत प्राप्त गरेको थियो । उसले अघिल्लो निर्वाचनको तुलनामा मंसिर ४ मा भएको निर्वाचनमा मत बढाएको छ ।

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फ नेपाली काँग्रेस रोल्पाले १५ हजार ७० मत प्राप्त गरि जिल्लामा दोश्रो ठूलो दलको रुपमा रहेको छ । नेपाली काँग्रेस रोल्पाले २०७४ सालको निर्वाचनमा १५ हजार ८४७ मत प्राप्त गरेको थियो । उसले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा मत घटाएको हो ।

पहिलो पटक निर्वाचन लडेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १ हजार ९०४ मत प्राप्त गरेको छ । सो पार्टी समानुपातिक मतका आधारमा जिल्लामा चौथो ठूलो दलको रुपमा देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत मत घटाएको छ । उसले गत ४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ १ हजार ३३६ मत प्राप्त गरेको छ । २०७४ सालको निर्वाचनमा सो पार्टीले १ हजार ८३३ मत प्राप्त गरेको थियो ।

कुल १ लाख ४५ हजार ४७१ मतदाता रहेको रोल्पामा गत मंसिर ४ को निर्वाचनमा ६७ हजार ४९ अर्थात ४६ प्रतिशत मत खसेको थियो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कुल १ लाख २७ हजार ६२९ मतदाता मध्ये ७० हजार ६६९ अर्थात ५५ प्रतिशत मत खसेको थियो ।

रोल्पामा वामपन्थीको मत बढ्नु र प्रजातन्त्रवादीको मत घट्नुलाई पूर्व सांसद लेखनाथ आचार्य स्वभाविक ठान्छन । आचार्यका अनुसार ४ मंसिरको निर्वाचनमा एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश मत काँग्रेसको काटेको बताउछन् ।

काँग्रेसको मत घट्नुको अर्को कारण प्रत्यक्षमा काँग्रेसको उम्मेदवार नहुनुलाई मान्छन । आफ्नो पार्टीबाट प्रत्यक्ष तर्फ उम्मेदवार नुहँदा धेरै काँग्रेसी मतदाता भोट हाल्न नजाँदा काँग्रेसको मत घटेको हुन सक्छ आचार्यले भने । वामपन्थीहरु निर्वाचनलाई जीवनमरणको विषय बनाएर खट्ने गर्छन, काँग्रेसीहरु निर्वाचनलाई सामान्य प्रकृयाको रुपमा लिदा पनि वामपन्थी मत बढेको हुन सक्छ आचार्यले भने ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस