श्रीमान् नगरप्रमुख ज्यू ।
रोल्पा नगरपालिका
                                                                           विषय:खुला-पत्र

कोरोनाको दोश्रो लहरले हाम्रा दैनिकीहरू तहसनहस भएका छन् । कोरोनाको कहरबीच अघिल्ला वर्ष झै यस वर्ष पनि तपाई नगरपालिकाको विकासका लागि रातदिन बजेट तथा कार्यक्रम तर्जुमा गर्दै हुनुहुन्छहोला ।

नगरको विकासका अभिभावक तपाईंको अगाडी बग्रेल्ती योजनका चाङ थुप्रिएका होलान् । कसलाई प्राथमिकतामा राखौं त्यसको विधि पद्धती भएपनि सबैलाई चित्त वुझाउने सकस तपाईंका लागि पक्कै कम चूनौती छैन होला । आसन्न नगरपरिषद्लाई ध्यान दिदै नगरपालिका क्षेत्र भित्रका विद्यालयका अभिभावकको प्रतिनिधित्व गर्दै म केही सुझाव दिन चाहान्छु ।

एउटा सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरेको डेढ दशक पुग्दै छ । झण्डै ४ वर्ष त तपाईले नेतृत्व रहेको स्थानीय सरकारसंग पनि साक्षात्कार हुने मौका मिल्यो । यस बीचमा अभिभावकको नाताले तपाईंसंग एकदिन पनि शिक्षाको वारेमा भलाकुसारी गर्ने अवसर मिलेन यसमा कमजोरी मेरो पनि होला ।

वितेका ४ वर्ष तपाईंले नगरको शैक्षिक विकासमा साच्चै प्रशंसनीय काम गर्नुभएको छ । सर्वप्रथम म तपाईंको कामको सम्मान गर्न चाहान्छु । वितेका ४ वर्ष रोल्पा नगरपालिकाको शिक्षा विकासमा गरेको लगानी यहाँ प्रस्तुत गर्दा तपाईलाई पढ्ने फुर्सद नहुने कुरा मैले राम्रोसँग बुझेको छु । म चालु आर्थिक वर्षमा तपाईंले शिक्षा क्षेत्रमा गरेको लगानी पेश गर्न चाहान्छु ।

शैक्षिक हवको नारा अघि सार्नुभएको तपाईले चालू आर्थिक वर्षको विकास बजेट मध्ये शिक्षा क्षेत्रका लागि १ करोड ३० लाख विनियोजन गर्नुभएको छ । विनियोजित बजेट मध्ये गुणस्तर सुधारका लागि ६६ लाख ५० हजार रुपैयाँ प्रस्ताव गर्नुभएको छ ।

गुणस्तर सुधार अन्तरगत पहुँच, नतिजा सुधार, प्रणाली विकास सुधार, प्रश्न बैंक स्थापना, क्षमता विकास, विद्यार्थीको प्रतिभा पहिचान, विद्यालयमा सूचना प्रविधि साझेदारी, संस्थागत क्षमता जस्ता कृयाकलापमा खर्च गर्ने प्रस्ताव गर्नुभएको छ ।

एक घर एक रोजगार कार्यक्रम अन्तरगत प्राविधिक शिक्षा अध्ययनका लागि १०० विद्यार्थीका लागि ३० लाख रुपैयाँ छात्रवृत्तिको व्यवस्था गर्नुभएको छ । शिक्षक सहायता अनुदान अन्तरगत स्वयंमसेवक शिक्षक परिचालनका लागि ४४ लाख ३० हजार रुपैयाँ विनियोजन गर्नुभएछ । यस्तो अनुकरणीय काम गर्दा गर्दै शिक्षाको आधार मानिने बालविकास केन्द्र कसरी छुट्न गयो ?

शिक्षाको जग बालबिकास केन्द्र हो । यसको प्रवद्र्धन गर्न नसके शिक्षाको जग नै कमजोर हुन्छ । विद्यालय भवन छन्, शिक्षक छन्, विद्यार्थी विद्यालय गईरहेका छन् । यही हो हामीले बुझेको शिक्षा ।

हुन त शिक्षामा कति प्रतिशत बजेट विनियोजन भयो त्यो मुख्य कुरा हैन । मुख्य कुरा त मौजुदा शिक्षा क्षेत्रमा समस्या के छन् ? परिस्थिति विश्लेषण वा व्याख्या गरेर अघि बढ्नु ठूलो कुरा हो । हाम्रो शिक्षा प्रणाली र साेँचमा आमुल परिवर्तन नहुँदासम्म बजेट जतिसुकै खन्याए पनि शिक्षा गरि खाने हुँदै हुँदैन । हाम्रो वर्तमान संरचना र संस्कारमा व्यापक परिवर्तन नहुँदासम्म शिक्षामा परिवर्तनको गुञ्जयास देखिदैन ।
शिक्षा परिवर्तन गर्ने दस्ता नै कमजोर छ ।

विद्यालयमा कांग्रेस, कम्युनिष्ट, राप्रपा वा मधेशवादी छ्यापछ्याप्ती भेटिन्छन् । शिक्षक देखिन छाडेका छन् । राजनैतिक दलका कार्यकर्ताले पढाएको शिक्षा कस्तो होला । राज्यको तलब खाएर पार्टीको झोलाप्रति माया भएका ती लाज पचेकाहरूलाई शिक्षक नबनाउँदासम्म शिक्षा सुधार हुँदैन । शैक्षिक सामग्री बोक्ने उनीहरूको झोलामा पार्टी र शिक्षक संगठनका रसिद भेटिने गर्छन् ।

यस्तो नाङ्गो बिगविगी कसले कहिले नियन्त्रण गर्ने ? बच्चाको अधिकारमा कहिल्यै सरोकार वा मतलव नराख्ने यस्ता संघ संगठनलाई आफ्नो अधिकार चिन्ताले शिक्षा कहिले सुधार होला ? घडी हेर, सुईकुच्चा ठोकको मानसिकतामा रहेक शिक्षकहरूलाई घडी हेर्ने हैन घण्टी सुन्ने कहिले बनाउने हो ।

विद्यालय व्यवस्थापन समितिहरू नाम मात्रका छन् । राम्रोसँग विद्यालयको “गभर्न” गर्न सकेका छैनन् । अझ पार्टीको कोटावाट जाने व्यवस्थापन समितिबाट के अपेक्षा गर्नु । खबरदारी, साझेदारी र सहकार्य गर्ने नागरिक समाज मुर्छित छ । केही हुदैन भन्ने मनोविज्ञान जबरजस्त मौलाउदै छ । आफूलाई अव्वल र राम्रा भन्ने मान्छेहरू समाज सुधार हैन आफ्नो सुधारमा लागेका छन् । यस्तो अवस्थामा रहेको अभिभावकबाट शिक्षाको परिवर्तनमा के आशा गर्नु ?

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन अनुसार शिक्षक विद्यार्थी अनुपात प्रारम्भिक बालविकास केन्द्र २०, आधारभूत तह ३० र माध्यमिक तह ४० हो । के नगर भित्रका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात यसैगरी मिलेको छ ? म एउटा मात्रै उदाहरण दिन्छु । नगरपालिका भित्रको पुरानो विद्यालय बालकल्याण नमुना माविमा २ हजार ६ सय विद्यार्थी पढाउन राज्यले १८ स्थायी ६ करार सहित २४ शिक्षक उपलव्ध गराएको छ । यो अनुपात एक शिक्षक बराबर १०८ विद्यार्थी हो ।

विद्यार्थीको यस्तै चापलाई मध्यनजर गर्दै अभिभावकहरूले शैक्षिक सहयोग गर्दै आएका छन् । अभिभावकको सहयोगबाट नगरका अधिकांश विद्यालय चलेका छन् । माथि उल्लेख गरेको बालकल्याण माविकै कुरा गरौं। उसले ६३ जना शिक्षक कर्मचारी परिचालन गर्छ । सरकारी श्रोतवाट तलब भत्ता खाने २४ बाहेक उसले आफ्नै श्रोतवाट ३९ जना व्यवस्थापन गर्दै आएको छ । ३९ मध्ये ३५ जना शिक्षक हुन् । सरकारी श्रोतका २४ र निजी श्रोतका ३५ समेत ५९ जना शिक्षकले पठन पाठन गर्ने गर्दछन् ।

विद्यालयको श्रोतवाट राखिएका शिक्षक समेतबाट सो विद्यालयमा शिक्षक विद्यार्थी अनुपात ४४ जना छ । विद्यालयको सो प्रयास राज्यको मापदण्ड अनुसार अझै पुग्न सकेको छैन । सो विद्यालयमा रहेका शिक्षक कर्मचारी मध्ये ३८ प्रतिशतको सरकारको व्ययभार छ भने वाँकी ६२ प्रतिशत आन्तरिक श्रोतवाट व्यवस्थान हुदै आएको देखिन्छ । यो खर्च व्यवस्थापन पनि अभिभावकको सहयोगबाट चलेको विद्यालयको भनाई छ ।

अभिभावकले उठाउने सयोगबारे नगरपालिकाको धारणा के हो? यसबारे नगरपालिका बोल्नु पर्छ कि पर्दैन । सार्वजनिक शिक्षा सुधारले मात्रै लोकतन्त्र सुदृढीकरण हुन्छ । हाम्रो संविधानमा शिक्षालाई मौलिक हक भनेका छौ । निशुल्क र आधारभूत शिक्षा अधिकार हो । कोरोनाका कारण अघिल्लो वर्ष झण्डै ६ महिना थला परेको हाम्रो शैक्षिक धरातल यस वर्ष कहिलेसम्म थलिने हो ठेगान छैन ।

विद्यालय बन्द रहदा पनि विद्यार्थीको पठन पाठन वन्द हुनु हुँदैन । वैकल्पिक ढंगले पठन पाठन गर्ने नगरपालिकाको रणनैतिक योजना   के छ ? सामान्य अवस्थामा पनि १८० दिन पढाएर १३ महिनाको तलव खाने शिक्षकहरू कोरोनाका कारण झनै निस्कृय देखिएका छन । उनीहरुलाई सक्रिय वनाउने नगरपालिकाको योजना कस्तो छ ?

नगर प्रमुख ज्यू

मेरो यो पत्रमा समस्याका कुन्तुरा मात्रै पस्किएका छन । अभिभावकको दृष्टिकोणबाट समाधान के हुन सक्छन् । खुला पत्र मार्फत अर्को अंकमा लेख्ने छु । मेरो आशा छ हाम्रो विद्यामान संरचना, सोंच र पुरातन सोंचाईले शिक्षामा आंशिक सुधार त होला आमुल परिवर्तनको संभावना छैन । यसको परिवर्तनका लागि तपाई एक्लै, नगरपालिका मात्रै कस्सिएर संभव छैन । हामीले अधिकारको कुरा त धेरै गर्‍यौं तर कर्तव्य कहिल्यै पुरा गरेनौ ।

शिक्षा एक महान अभियान हो । हो हत्तपत हुने विषय पनि हैन यो त निरन्तर चल्ने विषय हो । विकास पूर्वाधारको पनि पूर्वाधार शिक्षा हो । यो सिटामोल खाए जस्तो तत्काल असर देखिने विषय पनि हैन ।

यसको नतिजा देखिन दशौ वर्ष लाग्न सक्छ । त्यसैले सवैले देख्ने वाटो, खानेपानी, सिचाई जस्ता क्षेत्रमा लगानी गर्दा शिक्षा सधै पछाडी परेको  हो । केन्द्रीकृत शासनले दुरदराजलाई हेरेन भनेर हैन हामीले संघीयता खोजेको? जहाँ शिक्षाको विकास हुन्छ त्यहाँ अरु विकास पनि हुन्छ । तर खै शिक्षाको विकास ?

                                                                                     उही
                                                                                       महेश न्यौपाने
                                                                                      अध्यक्ष, विद्यालय व्यवस्थापन समिति
                                                                                            श्री बालकल्याण नमुना मावि लिबाङ, रोल्पा

(रोल्पाको शिक्षा विकासको बाैद्धिक बहसका लागि यी विषय उठान गरिएका हुन्)