बच्चा जन्माउँदैमा अभिभावक बनिदैन । बा–आमा चाही बनिन्छ । बा–आमा बन्नु र अभिभावक बन्नु फरक कुरा हो । सबै बा–आमा अभिभावक नबन्न सक्छन । अभिभावक त्यो हो जसले छोराछोरीलाई समय दिन्छ, लगानी गर्छ अनि संस्कारमा हुर्कन मद्धत गर्छ ।

भनिन्छ बच्चालाई तपाईले दिने उपहार भन्दा समयको निकै महत्व हुन्छ । धेरैले भनेको सुनिन्छ बालबालिका राष्ट्रका खम्वा हुन । कसै–कसैले भन्छन बच्चामा लगानी गर्नुपर्छ । अभिभावक ती बालबालिकाका खम्वा वा लगानीकर्ता मात्र हैनन् उनीहरुका रचयीता पनि हुन । बच्चालाई कस्तो बनाउने भन्ने कुरा अभिभावकको हातमा हुन्छ । बच्चा सफल र संमृद्ध हुन अभिभावक पनि शिक्षित र सचेत हुनुपर्दछ । शिक्षित भन्नाले यहाँ विद्यालय वा विश्वविद्यालयको औपचारिक डिग्रीको कुरा गरिएको होईन । कम्तिमा पनि शिक्षाको महत्व बुझेको हुनुपर्दछ ।

बच्चासँग सबभन्दा नजिक बुवा–आमा हुने गर्दछन । त्यसैले बच्चाले सबभन्दा पहिले आमा बुवा चिन्ने गर्दछ । जब बच्चा बुझ्ने हुन थाल्छ अनि उसले बुझ्दै र महसुस गर्दैं जान्छ उनीहरु वीचको बहुविचार । बुवाले चुरोट खाएको देख्छ, तास खेलेको देख्छ, रक्सी पिएको देख्छ जुन कुरा आमाले गरेको देख्दैन । अनि उसमा “कन्फ्युज” शुरु हुन्छ, बुवा ठिक की आमा ? यति मात्र हैन आमाले खाना पकाएको, कपडा धोएको, घर सफा गरेको पनि देख्छ जुन कुरा बुवाले गरेको देख्दैन । उ हुर्कदै जान्छ र यस्तै कन्फ्युजको भुमरीमा फस्दै जान्छ । कुन ठिक कुन बेठिकको कन्फ्युजबाट उसको विद्यालय शिक्षा आरम्भ हुन्छ । उसले विद्यार्थीकालभर बुवा र आमाका दुई फरक–फरक विचार अनि व्यवहार देख्दै, सुन्दै र भोग्दै जान्छ । तर उ सधै अनुत्तरित भईरहन्छ ।

जब बच्चाले भनेको मान्दैनन, गृहकार्य गर्दैनन, झगडा गर्न थाल्छन, अल्छी बन्छन, टेर्दैनन अनि अभिभावकले केटाकेटीका लागि तीन प्रकारले अभिभावकत्व गरिरहेका हुन्छ । सुरुमा सम्झाउने त्यसपछि थर्काउने अनि हिर्काउने । सम्झाउदा अर्थात फकाउदा नमान्नेलाई थर्काउने । थर्काउदा अर्थात गालि गर्दा नमान्नेलाई हिर्काउने । अधिकांश अभिभावकले पार गरेको अभिभावकत्वको चरण हुन यी । सम्झाएर वा थर्काएर वा हिर्काएर जसरी हुन्छ बालवालिका आफ्नो नियन्त्रणमा आवस भन्ने अभिभावकको चाहाना हुन्छ । नकी बच्चाले किन भनेको मान्दैन, गृहकार्य गर्दैन, झगडा गर्छ, अल्छी बन्छ वा भनेको नटेर्नुको कारण के हो ।

हामी कारणमा कहिल्यै प्रवेश गर्न चाहेनौ । केवल परिणाम मात्र हेरिरह्यौ वा त्यसैमा रुमालि रह्यौ । बच्चा छदा हामीले सिर्जना गरेका यस्तै समस्याको हाम्रा अभिभावकले पनि यसै गरि परिमाणमै रुमलिरहन्थे । हामीले बावुबाजेको पाला देखी भोग्दै आएको दशा बदल्न दिशा बदल्न सकेनौ । अर्थात हामीले सिर्जना गरेका समस्या र हाम्रा केटाकेटीले सिर्जना गरेका समस्या उस्तै उस्तै मानेर चुपचाप रही रह्यौ । जीवन र जगतलाई हामीले लगातार हैन हतारको विषय बनायौं ।

सबै अभिभावकको चाहाना मेरो बच्चाले परिक्षामा धेरै नम्वर ल्यावस भन्ने हुन्छ । विद्या वा ज्ञानको लागि हैन सर्टीफिकेटका लागि पढाइरहेका छौ । ए प्लस वा ए ग्रेडका लागि । सर्टीफिकेट शैक्षिक मापनको स्तर मात्रै हो। ज्ञान मापनको स्तर हैन । यो संसार किसानले बनाएका छन्। मजदुरले पनि बनाएका छन् । खाली सर्टिफिकेटवालाले मात्रै बनाएको कहाँ हो र ।

हामीले ग्रेटनेसमा हैन गुड मार्कसमा विश्वास गर्यौ । नपढेर धनि भईदैन, ठालुभईदैन वा शक्तिशाली भईदैन भन्ने शिक्षा दिऔं फलतः हाम्रा सन्तानको राम्रो नम्वर त ल्याए तर उनीहरु व्यक्तिलाई समाजबाट कटाउने, घमण्डी र अहमकारी बनाउने, अनि समाजबाट छुट्याएर अलग्गै बस्ने बनाई दियो । हामीले ज्ञान हैन शिक्षा मात्रै दियौं । अनि हाम्रा केटाकेटी धनि बन्न, ठालु हुन र शक्तिशाली हुनकै लागि मात्रै पढे ।

हाम्रा छोराछोरीलाई राम्रो बनाउन खोज्दै गर्दा छिमेकीका छोराछोरी हेर्दै हेरनौ । जोसँग हाम्रा छोराछोरीको दैनिकी बित्छ । हाम्रो छोराछोरीलाई राम्रो संस्कार सिकाउदै गर्दा हामी जतिकै समय बिताउने हाम्रा छिमेकीका छोराछोरीबाट हाम्रा छोराछोरीले के सिकिरहेका छन्। त्यसको हामीले कहिल्यै ख्याल गरेनौ । छिमेकीका छोराछोरी राम्रा भए मात्रै हाम्रा छोराछोरी पनि राम्रा हुनसक्छन ।

आमाको गर्भमा रहेका शिसुको पोषणमा गरिने लगानीले उसको शिक्षामा प्रभाव परेको हुन्छ । गर्भावस्था देखी २ वर्ष सम्म अर्थात १ हजार दिन बच्चालाई दिईने पोषणले उसको जीवन कता मोड्ने भन्ने निर्धारण हुन्छ । यो समयमा बच्चाको ८० प्रतिशत दिमाखको विकास हुन्छ भनिन्छ । यो क्रममा आंशिक रुपमा ५ वर्षसम्म कायम रहन्छ, जतिबेलासम्म उसले आमाबाट शिक्षा लिईरहेको हुन्छ ।

बच्चा जन्मे पछि धेरै कुरा आमाबाट सिकेको हुन्छ । त्यसकारण आमाले गर्ने व्यवहार उसको बालमस्तिष्कले ग्रहण गरिरहेको हुन्छ । बच्चालाई आमाले दिने शिक्षा नै आमा शिक्षा हो । यो शिक्षा बालवालिकाले घरमा र केही समय बालविकास केन्द्रमा लिने गर्दछन । त्यसैले बालविकास केन्द्रहरु विद्यालयका अन्य कक्षाहरु यस हिसावले पनि फरक छन् । की त्यहाँ बालवालिकाले पढ्ने हैन सिक्ने गर्दछन । शिक्षाको जग बालविकास केन्द्र हो । हेरेर, छामेर स्पर्श गरेर अध्ययन गर्ने यस समयमा उनीहरुका लागि समय र पँुजी दुवैको लगानी जरुरी रहन्छ ।

५ वर्ष पार गरेपछि विद्यालय शिक्षाका लागि तयार हुन्छन । आमा शिक्षा तथा बालविकास कक्षाबाट सिकेका संस्कारका आधारमा विद्यालय शिक्षाका लागि तयार उनीहरु मनोवैज्ञानिक रुपमै शिक्षाका लागि तयार भए पछि मात्रै शिक्षण सिकाई कृयाकलापमा सक्रिय सहभागि हुन सक्छन ।

जसरी शिक्षकले विद्यालयमा पठनपाठन गराउँदा खेल्ने भूमिका महत्वपूर्ण मानिन्छ त्यसैगरि अभिभावकले उसका छोराछोरीका लागि दिने समय, गर्ने रेखदेख र लगानी उत्तीकै महत्वपूर्ण मानिन्छ । विद्यार्थीहरु विद्यालयमा ६ घण्टा रहन्छन भने उनीहरुको बाँकी १८ घण्टा घरमै बित्ने गर्दछ । घरमा भएको सिकाई वातावरण उसको जीवको कोषेढुंगा हुने गर्दछ । घरमा औपचारिक शिक्षाका साथसाथै अनौपचारिक शिक्षा पनि विद्यार्थीहरुले ग्रहण गरिरहेका हुन्छन । हजुर बुवा हजुर आमाबाट उनीहरुले जीवन अनुभवका गाथा सिकिरहेका हुन्छन भने आमाबाट घरायसी कामका साथै मातृवात्सल्य ।

शिक्षक त सहजकर्ता मात्रै हो अर्को शव्दमा भन्दा मेन्टर । मेन्टरको काम बाटो देखाई दिने हो । मेहनत त विद्यार्थी स्वयमःले गर्ने हो । विद्यालयमा शिक्षकले सिकाउने भन्दा पनि साथीले साथिलाई सिकाउने शिक्षा प्रभावकारी मानिन्छ । कक्षा कोठामा उत्कृष्ट साथीले कमजोर साथीहरुलाई सिकाउने पद्धती साथी शिक्षा हो । यस्तो पद्धतीमा शिक्षकको भूमिका कम र विद्यार्थीको भूमिका बढी रहन्छ ।