कोरोना भाइरसका कारण गत चैत्र ८ गतेका लागि निर्धारित माध्यमिक शिक्षा परिक्षा (एसईई) स्थगनसँगै चैत्र ७ पछि विद्यार्थीहरुले विद्यालय टेकेका छैनन् । कक्षा ९ सम्मका विद्यार्थी झन चैत्र ५ गते पछाडि विद्यालय गएका छैनन् । विद्यार्थी विद्यालय नगएको झण्डै ५ महिना पुरा हुँदैछ । औपचारिक विद्यालय शिक्षा सुरु भए यता आफ्ना अभिभावकसँग यति लामो समयसम्म घरमै बसेको समकालीन विद्यार्थीहरुका लागि यो पहिलो रेकर्ड हुन सक्छ । वार्षिक विदाको समयमा झण्डै ४५ दिन मात्रै परिवारसँग बिताएको अनुभव भएका विद्यार्थीहरुका लागि कोभिड—१९ले सिर्जना गरेको विपदले निम्त्याएको समस्यासँगै यति लामो समयसम्म आफ्ना अभिभावकसँगै बसेको पहिलो अनुभव हो । यो अवसर हो या चूनौती बहसको अलग पाटो भएपनि यस्तो अवस्था यस पूर्व नकिहल्यै आएको थियो र न अब आउने नै छ । यस्तो ईतिहासमै दर्ज हुने घटनाको साक्षी र पात्र अहिलेका बालबालिका भएका छन् ।
विद्यालय गएर पाठ्यक्रमले निर्दिष्ट गरेको विषयवस्तु पढेको हाम्रो पूस्ताको अभ्यास हो । वर्षभरि पढेको विषय वस्तु मूल्यांकन गर्न लिखित तथा प्रयोगात्मक प्रणालीमा आधारित परिक्षा नै हामीले अभ्यास गर्दै आएको प्रणाली हो । यस्तो अभ्यासबाट हुर्केका हामीलाई किताब बोकेर विद्यालय पुगि शिक्षकसँगको दाहोरो सम्वाद गरिने पढाई तथा पेपरमा दिएको प्रश्नको उत्तर दिने प्रणालीमात्रै परिक्षा हो भन्ने बुझाई छ । हामीलाई यो भन्दा फरक पद्धतीबाट पनि शिक्षण गर्न सकिन्छ भन्ने कुरामा विश्वास छ, न परिक्षा प्रणालीमा नै ।
हरेक विपदले अवसरमा बोकेर आएको हुन्छ । कोभिड–१९को विपदमा वैकल्पिक शिक्षालाई अवसरको रुपमा ल्याई पुराएको छ । अनौपचारिक शिक्षा मार्फत पनि बालबालिकाहरुमा जीवन उपयोगी र व्यवहारिक सिप सिकाउन सकिन्छ भन्ने कुराको राम्रोसँग बोध भएको छ । लामो समयसम्म अभिभावकहरुसँग बिताएका बालबालिकाहरुले कैयौं व्यवहारिक सीप पनि सिकेका छन् । सामाजिकरण, संस्कार तथा दैनिक घरायसी जीवन यापनका कुरा यस अवधिमा बालबालिकाहरुले सिकेका सीप हुन । त्यसको साथै ठूलठूला महामारि र विपत्तीमा पनि कसरी जीउन सकिन्छ भन्ने सीप पनि नजानिदो तरिकाले बालबालिकाले अभिभावकबाट सिकेका छन् ।
कोभिड–१९ का कारण अझै कति समयसम्म विद्यालय नखुल्ने हुन यसै भन्न सकिने अवस्था छैन । अभिभावकहरुलाई शिक्षक मानेर जीवन उपयोगी सीप सिक्दै आएको बालबालिकाको अबको सिकाई समाजका अन्य विषयसँग हुन जरुरी छ । विद्यार्थीले आफुले देखेका कुरालाई कसरी विज्ञान, गणित जस्ता विषयसँग ढाल्न सक्छन त्यतातिर उनीहरुको पढाईलाई केन्द्रीत गर्न जरुरी छ । जस्तै आफ्नै घर नजिक रहेको आरनमा आरनेले गणितका कुन–कुन फरमुला प्रयोग गरेर हसिया कोदाली निर्माण गरेका छन् अथवा आरनमा प्रयोग हुने सामानहरु विज्ञानसँग के कति सम्बन्ध राख्दछन् त्यसको गहिरो अवलोकन गरि गृहकार्यका रुपमा लगाउन सकिन्छ । त्यतिमात्र हैन आफ्नो परिवारको आमदानी खर्चको विवरण राखेर त्यसलाई गणितको प्रयोगात्मक अभ्यास मात्र हैन लेखा र अर्थशास्त्रसँग पनि जोडेर हेर्न सकिन्छ ।
बालबालिकाले गर्ने घरभित्र र समाजको अध्ययनलाई नै सामाजिक, विज्ञान, गणित वा नैतिक शिक्षाको रुपमा प्रश्नावली बनाएर उनीहरुको मूल्यांकन गर्न सकिन्छ । अहिले हामीले प्रयोग गर्दै आएका पाठ्यक्रम भन्दा अलि बाहिर गएर फराकिलो सोचका साथ अनौपचारिक ढंगले पठनपाठन गर्न सक्यौ भने विद्यार्थीलाई ज्ञान, सीप र धारणा सिकाउन सकिन्छ । वैकल्पिक शिक्षामा यस्ता कुरा समावेश गर्न जरुरी छ । अहिले रेडियो, टेलिभिजन तथा अनलाइनहरुबाट औपचारिक शिक्षा दिइदै आएको देखिन्छ । सञ्चारका यी साधनहरुमा सबै विद्यार्थीको पहुच नहुन सक्छ । टेलिभिजन र ईन्टरनेटको न्यून पहुँच रहेको रोल्पा जस्ता दुर्गम जिल्लामा रेडियो नै प्रभावकारी मानिए पनि यसको पहुँच पनि ८० प्रतिशत जनसंख्यामा मात्रै रहेको बताईन्छ । यसकारण विद्यार्थीहरुलाई अनौपचारिक शिक्षामा समेत जोड्न जरुरी छ ।