
गजल-१
उसले काठमाडौँमा घर किन्नुछ, महल किन्नुछ।
मैले पाउँमा लगाउने एक जोर चप्पल किन्नुछ।
कति दिनदेखि बाबा भोकले पानी पिईराछन्।
एक गाँस छाक टार्न भएपनी चामल किन्नुछ।
आमा पनि च्यातिएको गुन्यु र चोलिमा हुन्छिन्।
अब एउटा पटुकी अनि एउटा सल किन्नुछ।
विवाह भएको धेरै भयो श्रीमतीको गला रित्तै छ।
सुन किन्न सकिन देखाउनलाई पित्तल किन्नुछ।
आज पनि सानो छोरो स्कुल जान मान्दै मानेन्
साहु दस रुपियाँ दिनुस् न उसलाई बल किन्नुछ।
गजल -२
छातीमा पाउ राखेर हिड्छन् स्वार्थी सहरमा
छोराले बाउ काटेर हिड्छन् स्वार्थी सहरमा
दमले पटक-पटक लडिरहने बुढी आमालाई
वृद्वाश्रममा छाडेर हिड्छन् स्वार्थी सहरमा
परिस्थिति अंगालेर परदेशिएका महिलाहरु
सधैँ परिवार सम्झेर हिड्छन् स्वार्थी सहरमा
सुखमा साथिभाई, इस्टमित्र र आफन्त हुनेहरु
दुःखमा अन्जान बनेर हिड्छन् स्वार्थी सहरमा
धोका दिनेहरु गै हाल्छन, यादमा बस्नेहरुले
दिलमै तस्विर टाँसेर हिड्छन् स्वार्थी सहरमा
गजल -३
गर्धन काटेर पनि फेरिएन नेपाल उस्तै छ।
खोलिका ती माझी दाईको जाल उस्तै छ।
बाबा सधैं कन्दमुल खोज्न जङ्गल पस्छन।
यी गरिब बस्तिहरुमा रित्तो थाल उस्तै छ।
आमाले छाक टार्न नुन पानी उमाल्ने गर्छिन् ।
कुन चराले फेरिदिन्छ ? यो बेहाल उस्तै छ।
सोझा,ईमानदारलाई गोलि ठोके, फाँसि दिए
बरु पुजीवादी, राष्र्टघाती दलाल उस्तै छ।
एकचोटि फर्की हेर नेता तिम्रा फुटेका आँखाले
त्यो सडकमा भिख माग्ने कंगाल उस्तै छ।
गजल -४
सधैं साथ छोडछ सुखले पनि, खुशिले पनि
दुःख, पीडा मात्रै पाईरहयो जिन्दगीले पनि
तल्तल गरी रहन्छ यो मन मधुशाला नपसे
अम्मली बन्न सिकायो माया, पिरतिले पनि
बालाई चिहान छोडेर फर्केको थेँ जुन दिन
आखिर त्यहि दिन छोडी गयौँ तिमिले पनि
दुश्मन मात्रै मेरा लागि खतरा हुन् लाग्थ्यो
पाईलै पिच्छे काँडा राख्छिन सखिले पनि
खै बाबु चामल ल्याको भोकै छन् भाइ बहिनि
हेरन आमा, उधारो दिएनन् साहुजिले पनि