तिम्रो अद्भूत प्रेम

कर्कलोको पातमा अडिए झै पानी
बुढ्यौली बचपन या होस जवानी
खै कुन पल  हो सिद्धिएर जानी
क्षणभरको जीवन क्षणभरमै खरानी

र पनि
छ कतै लडाइ सपनाहरू नै किन्न
कतै छ लडाइ मान्छेको हो चिन्न
कतै मानवता धर्म सबै छिन्नभिन्न 
मान्छेलाई मान्छेले मान्छे हुन दिन्न 

तर पनि
तिम्रो आँखाले मान्छे देखेको म
तिम्रो कलमले मान्छे लेखेको म
तिम्रो मनले धन त्यागी रोजेको म
तिम्रो जीवनले अग्रपङ्क्तिमा खोजेको म
मेरा राजनैतिक जीवनको शर्तमा पनि
सहजै तिम्रो स्वीकारोक्तिमा परेको  म

तर 
तिमीसँग सँगै म हराउँदै गए
आम नारी सरी म रमाउँदै गए
खै कुन बेला तिमी नभै नहुने भए
तिमी बिना गगन एक्लै नछुने भए
तिम्रो त्याग र समर्पणको म ऋणी भए
तिम्रो अद्वितीय प्रेमको म धनी भए

न घमण्ड तिमीलाई पुरूष हुनुको 
न अपशोच तिमीलाई मलाई छोड्नुको
न लोभ तिमीलाई पैतृक सम्पत्ति धनको
न कमी तिमीमा कोमल मानवीय मनको

तिमी साथी बनेर मेरा व्यथा सुन्यौ 
अभिभावक बनेर शिक्षादीक्षा दियौ
प्रेमी बनेर सर्वोत्कृष्ट प्रेम इज्जत दियौ 
जीवनसाथी बनेर बराबरीको ताकत दियौ 
बदलामा तिमीले न केही माग्यौ न सोच्यौ
आमा बा बच्चा सबै भन्दा उच्च मेरो तिमी भयौ
पाएर पनि गुमाएर पनि जहिले जहिले तिमी भयौ

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस