माओवादी सच्चिने की सक्किने ?

नेकपा (माओवादी केन्द्र) गएको भदौ १६ गतेदेखि  सच्चिने अभियानमा लागेको छ । उसको यो अभियान आउँदो मंसिर २५ गतेसम्म चल्नेछ । प्रारम्भिक चरणमा माओवादीले अभियान, बैठक र सरसफाइबाट थालेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नामको ‘थिम’ लिएर गएको छ । सँगसँगै ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नारा तय गरेको छ । माओवादीको अभियानको यो चरणपछि कार्यक्रमिक रूपरेखा आइसकेको छैन । तर, कार्यक्रम देशव्यापी गर्दा पनि मुख्य सञ्चारमाध्यममा माओवादीको यो प्रकारको उपस्थितिले समाचारीय मूल्य पाउन भने सकेको हैन । माओवादी कार्यकर्ताहरू बढार–कुँढार त गर्दैछन् । उनीहरूको यो देशव्यापी प्रारम्भिक अभियान सामाजिक सञ्जाल अन्तरगतको ‘मुहार पुस्तिका’मा आफैले खिचेर पोष्ट्याएको स्वार्थी (सेल्फी) फोटोले जेनतेन जानकारी दिएको छ । युट्युब तथा अन्य माध्यममा पनि झिनो उपस्थिति मात्रै छ । 

माओवादी, सत्तारुढ दल हो । सत्तारुढ दलको सांगठनिक सक्रियता भएकै हुन्छ । सत्ता भन्दा बाहिर रहेका राजनैतिक दलको दैनिक क्रियाकलाप पनि हुन्छ भने सत्तारुढको बढी नै हुनु अस्वाभाविक हुन्न । जनवर्गीय तथा शुभेच्छुक संगठन मार्फत दैनिक क्रियाकलाप पनि भएकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित राजनैतिक परिस्थितिमा जनसभा, रेली वा अभियान गर्नु बेग्लै कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नु पछिको अन्तर्य के होला ? पार्टी सङ्गठनमा कुनै भवितव्य आइलागेको पनि छैन । केन्द्रीयदेखि सबै कमिटीको बैठक पनि भैरहेका छन । केन्द्रिय कमिटी बैठकले ४०९ जनाको जम्बो केन्द्रिय कमिटी विस्तार गरेर पार्टी एकमना बनाएको छ । असन्तुष्टहरूलाई बिलो लगाएर केन्द्रिय कमिटीको विस्तार पूर्ण बनाएको छ । राजनीतिमा प्रतिगामी परिदृश्यको संकेत पनि छैन । सत्ता गठबन्धन तलबितल होला भन्ने पञ्चाङ्ग योग पनि राजनैतिक ज्योतिषले बताएका हैनन् । फेरी पनि तीन महिना घरदैलोमा जाने अभियानको थालनी गरेको छ । राजनीतिका पारखीहरूले पर्यवेक्षण गर्ने विषय यही हो । 

फिनिक्स र नार्सिससको जीवन चक्र:

हामी निक्कै बिग्रियौँ । हामी सच्चिने की सिद्धिने ? हामी सुध्रिने की सिद्धिने ? हामी नसुध्रिने हो भने सिद्धिन्छौँ ? माओवादी नेताको यो थेगो नै हो । माओवादी सुप्रिमोदेखि कनिष्ठ नेताहरूको मुखाग्र थेगो हो । को बिग्रियो ? किन बिग्रियो ? नेता बिग्रे की कार्यकर्ता ? उपल्लो कोटीका नेता बिग्रे की तल्ला कमिटीका नेता बिग्रे ? उपल्लो कमिटीदेखि तल्लो कमिटीसम्म बिग्रेकाको फेहरिस्त खोइ ? बिग्रनुको परिवेश र बिग्रेकाको मापदण्डको खुट् खबर छैन । एमालेमा गएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखनाथ भट्ट, मणि थापा लगायतका बिग्रेका हुन भने उनीहरूले पार्टी छोडी सके चिन्ता लिनु पर्दैन । अझै पार्टीमा बाँकी छन भने बिग्रकाहरु को हुन ? चुनाव जितेर आएकाहरू बिग्रेका हुन या हार्नेहरू बिग्रे ? घरिघरि मन्त्री, अवसर पाउनेहरू बिग्रेका हुन या मन्त्री नपाउनेहरू बिग्रे ? कोही त बिग्रियो । बिग्रेकालाई सपार्नु पर्छ वा मिल्काउनु पर्छ । एक बोरा आलुमा एउटा आलुमात्र कुहिएको छ भने सबै आलु कुहाउँछ भन्ने कहावत नै छ । जम्बो केन्द्रिय समितिमा कति बिग्रेका छन ? प्रदेशसहित  पालिकासम्मका  बिग्रेका नेताहरू को हुन ? बिग्रेकाहरु सप्रिने सम्भावनाका कति छ ? तीन महिने यो अभियानले माओवादीलाई सुधार्छ ? या त्यसपछि हुने विधान अधिवेशन र विशेष महाधिवेसनले सुधार्छ वा सच्याउँछ ? यस्ता जटिल मनोवैज्ञानिक प्रश्नहरूको चोटिलो उत्तर आउनु पर्छ । 

 युनानी पौराणिक कथा अनुसार नार्सिससलाई इकोले प्रेम नगरे ‘सिद्धिने श्राप’ दिएको कथा यहाँ पनि आकर्षित हुन्छ । ‘इको’ले राखेको प्रेम प्रस्ताव ‘नार्सिसस’ले खारेज गरिदिँदा इकोले दिएको श्राप अनुसार नार्सिसस आफ्नै अनुहारको छाँयाको प्रेममा पागल भएर मर्छन् । मनोविश्लेषक सिग्मन्ड फ्रायडले आत्मरतिमा रमाउँदै अहंकारी बन्ने प्रक्रियालाई ‘नार्सिस्जम’ र यस्तो अनुशरण गर्नेलाई ‘नार्सिस्ट’ भनेर व्याख्या गरेका छन् । कतिपय माओवादी नेताहरूमा नार्सिस्ट प्रवृत्ति छ । जनताको प्रेम प्रस्तावलाई रत्तिभर गणना नगर्दा माओवादी नार्सिस्जमको नियतिमा पुग्ने त्यत्तिकै सम्भावना छ । 

अर्को युनानी मिथकअनुसार नै ‘फिनिक्स’ चरोको जीवनचर्या पनि यहाँ चर्चा गर्नु वाञ्छनीय हुन्छ । फिजिक्सको उमेर पुगेपछि उसको शरीरमा आगो लाग्छ र त्यही खरानीबाट फिनिक्सले फेरी पुनर्जीवन पाउँछ । खरानीबाट अर्को जन्म पाउने अमर चरोको नयाँ जन्म कथाको सार हो । माओवादीले पनि नार्सिसस हुने की फिनिक्स हुने कुराले उसको जीवन निश्चित गर्छ । सिद्धिने की सच्चिने, सक्किने की सच्चिने कथाको सार हो । ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नाराको औचित्य यहीँनेर आएर कसी लाग्छ । 

माओवादी ‘युवराजहरू’ ः

माओवादीको अभियान चलिरहँदा माओवादीका एक से बढकर एक युवराजका चर्तिकला पनि सतहमा आएका छन् । युवराजहरूको उदण्डताको प्रश्नको नैतिक जवाफ नआउँदा अभियानमा खुसुरफुसुर हुने विषय नै यही छ । सच्चिने की सक्किने सूत्रको जवाफ युवराजहरूको क्रियाकलाप नै दिइसकेको धारणा व्यङ्ग्यपूर्ण अभिव्यक्ति जनताबाट आउने गरेका छन् । आलोचना आत्मआलोचना त माओवादीको विधिमा परेकै होइन । माओवादी अनुशासनका तीन/आठ नियम यतिखेर भर्सेलामा परिसकेका छन् । एकता–आलोचना–एकता विना रूपान्तरण सम्भव हुन्न । तर यहाँ त अपराध कर्मलाई पनि अदेखा गरिएको छ । र, माओवादीमा युवराज, युवराज्ञी, शाहज्यादा र शाहज्यादीको ज्यादतीलाई नरोके महाराज र महारानीको भ्रूण यहीँबाट रहन थाल्छ । रूपान्तरण त आकाशको फल आँखा तरी मर भने जस्तै हुनेछ । जनतालाई प्रश्न गर्न खुला नगरेसम्म र आलोचना सहन गर्ने क्षमता र विवेक ग्रहण नगरेसम्म परिणाम आउने पनि छैन । भन्नलाई माओवादी आफ्नो टाउकोमा आफै आगो लगाउनेसम्मको तर्क गर्छन । तर माओवादी कति नेतामा जनताको प्रश्न सुन्ने धैर्यता छ ? कति नेतामा कार्यकर्ताको आलोचना सुन्ने क्षमता छ ? यो अभियानमा माओवादी पङ्क्तिको वाक्य फुट्नु पर्छ । यी तर्कको नियति पनि यसै अभियान पछि थाहा लाग्नेछ ।   

हेमोफ्रोडाइटको प्रसङ्ग ः

सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थीलगायतका भ्रष्टाचारका मुद्दा प्रकरणमा माओवादी नेतृत्वको सरकारलाई जनपक्षीय समर्थन प्राप्त भएको छ । तर, यी काण्डहरू यथार्थ निष्कर्षमा नपुग्दासम्म यो ट्रेलर मात्र हो । यथार्थ निष्कर्षसहितको किनारा लाग्दा मात्र यसको हैसियत प्रस्ट हुन्छ । अर्को भ्रष्टाचारका यी मुद्दाहरू अस्थायी प्रकारका विषय हुन । अस्थायी मुद्दाले राष्ट्रिय समस्याको स्थायी बन्ध्याकरण गर्न सक्तैन । दीर्घकालीन लोकहित अस्थायी डेलिभरीले स्थायी समाधान गर्दैन । फेरिपनि यहाँ मुलुकको दर्ग दिशाको प्रस्थान बिन्दू योजनाबद्ध लोकहितकारी वैचारिकीले निर्दिष्ट गर्नेछ । नत्र हिन्दु पौराणिक कथा अनुसार ‘अर्धनारीश्वर’ जस्तो लिङ्ग नछुट्टिएको जिव जस्तो हुनेछ । ग्रिक पौराणिक मिथक अनुसार पनि यस्तो अर्धनारीश्वर शरीरलाई ‘हेमोफ्रोडाइट’ मानव भनेर नाम दिइएको छ । चलनचल्तीको भाकामा ‘हेमोफ्रोडाइट’लाई दुई लिङ्गी प्राणी भनिएको छ । यसर्थ राजनैतिक दलको भाका लिङ्ग छुट्टिएको हुनु पर्छ ।

 रहलपहल ः

सन् २०११ मा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको नराम्रो पराजय पछि उसले ‘जाग एक होउ र हराउ’ नारा ल्यायो । कार्यक्रम बेगरका यस्ता नारा नारामा सीमित हुने नै थियो । यसैले त्यसपछि पश्चिम बंगाल र त्रिपुरामा झनै नराम्रो पराजय भयो । कुनै समयमा भारतको राष्ट्रिय एवम् प्रमुख प्रतिपक्षी र तीन प्रान्त पश्चिम बंगाल, त्रिपुरा र केरलामा सरकार चलाएको पार्टी लोकसभामा यतिबेला तीन सिटमा सीमित छ । यसर्थ नारा र अभिभारामा तालमेल भएन भने यस्तै नियति दोहरिन सक्छ । माओवादी नेतृत्वलाई यी कुराहरू पच्न सक्छ सक्तैन ? तर भारतीय कम्युनिष्टको पराजयको अन्तरंग घैँटामा लाग्नु पर्छ । सुशासन, समृद्धि र समाजवादको योजनाको नेतृत्व गर्ने दलको कार्यक्रमिक रूपरेखाको दिग्दर्शन जनतामा अनुमोदन हुन जरुरी छ ।  
           

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस