समय नदीजस्तै बगिरहन्छ। बग्दै जाँदा उसले कति किनार छोयो, कति दृश्य पछाडि छोड्यो, कति पदचाप बालुवामुनि पुर्यो। सबैको हिसाब राखिँदैन। तर, स्मृतिको एउटा अनौठो स्वभाव हुन्छ, समयले धमिल्याएका दृश्यलाई पनि उसले हृदयको क्यानभासमा रङ्गीन बनाएर जोगाइराख्छ। हो, मलाई यात्राले यस्तै अनुभूति गराउँछ।
जीवनका केही यात्रा यस्तै हुन्छन्, जहाँ पाइला मात्र अघि बढ्दैनन्, सपना, कल्पना र योजना पनि सँगसँगै हिँड्छन्। जहाँ आँखाले दृश्य मात्र देख्दैन, मनले सम्भावनाको क्षितिज पनि खोज्छ। लिबाङ- तेबाङ (लिस्ने) यात्रा मेरा लागि यस्तै अनुभवको यात्रा बन्यो भन्दा हुन्छ।
‘पर्यटन प्रवर्द्धनका लागि सनस्टार घुम्ती बैठक’ले जुराएको यात्रा केवल एउटा यात्रा थिएन। त्यो आफ्नै भूगोललाई नयाँ आँखाले हेर्ने प्रयत्न थियो। आफ्नै माटोभित्र लुकेका पर्यटकीय सम्भावनाका मोती खोज्ने अभियान थियो। र, आफ्नो ठाउँको सौन्दर्यलाई आफ्नै आँखामा सीमित नराखी संसारसामु चिनाउने एउटा सामूहिक सङ्कल्प थियो।
वास्तवमा यात्रा सधैँ गन्तव्यमा पुग्नु मात्र होइन रहेछ। कहिलेकाहीँ बाटो आफैँ कथा बन्छ, अपरिचित अनुहार आत्मीयतामा बदलिन्छन् र पहाडका उकाली–ओरालीले मनभित्र सम्भावनाका नयाँ क्षितिज खोलिदिन्छन्। केही यात्राले आँखालाई दृश्य दिन्छन्, केहीले मनलाई अनुभूति अनि केही यात्राले भूगोललाई बुझ्ने दृष्टि नै बदलिदिन्छन्।
मेरो घुँडामा आएको समस्याले मेरो यात्रा लिबाङदेखि तेबाङको भैँसीपुरेसम्म मात्रै सीमित रह्यो। यहाँसम्मको यात्रामा मैले धेरै अनुभूति गरेको छु। र, लिस्नेसम्म पुग्नुभएका पदयात्रीमध्येका कैयौँ मित्रहरूको यात्रा अनुभव सुन्ने अवसर मिल्योरमिलिरहेको छ। उहाँहरूको अनुभवसँगै लिस्ने पुगेको आभास पाएँरपाइरहेको छु। यो आलेख मेरो यात्रा अनुभूति र मित्रहरूले सँगालेका लिस्ने अनुभवको जगमा उभिएको छ।
२०८३ साल असोज २५ र २६ गतेको लिस्ने यात्राको समयतालिकामा समेटिन सनस्टार युवा क्लबका अध्यक्ष एवं रोल्पा नगरपालिकाका पूर्वमेयर पुरण क्षेत्रीजीले केही हप्ताअघि नै मलाई फोन गरेर अनुरोध गर्नुभएको थियो। लुङ्ग्रीको थामलेक संस्करणमा म कामविशेषले छुटेको थिएँ।
त्यसैले यसपटकको यात्रामा नछुट्नका लागि उहाँको आशयमिश्रित फोन आउँदा नै मैले समय मिलाउने वाचा गरेको थिएँ। तर, यात्राको समय नजिक आइपुग्दै गर्दा मेरो घुँडामा समस्या आयो। त्यसले मेरो यात्रा नै प्रभावित हुने हो कि भनेर चिन्ता पनि थपिदियो। तर, असोज २५ गतेको भैँसीपुरे साँझ संस्करणसम्म पुग्न अध्यक्षजीले गाडीको यात्रा मिलाइदिनुभयो। त्यसले मेरो यात्रा सहज अनि सम्भव पनि बन्यो—आधाआधी भए पनि।
यात्रा तेबाङ–लिस्नेको पर्यटन सम्भावनालाई नजिकबाट नियाल्ने, स्थानीय संस्कृतिको अनुभूति गर्ने र सरोकारवालालाई सिर्जनात्मक अभियानमा जोड्ने प्रयत्न थियो। लिबाङलगायत जिल्लाका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटक, साहित्यकार, कलाकार, पत्रकार, जनप्रतिनिधि र युवाहरूको सहभागिताले यात्रालाई बहुआयामिक बनाएको थियो।
आत्मीय स्वागत
लिबाङ–सातदोबाटो–सुलिचौरसम्मको पक्की नागबेली सडक यात्रामा पनि लिस्नेप्रतिको जिज्ञासा तैरिरह्यो। रुईनिबाङ–राज्यपोखरी कच्ची सडक सकिन नपाउँदै सुनिलस्मृति गाउँपालिका–७, तेबाङस्थित राज्यपोखरीको नवनिर्मित सहिद स्मृति प्रवेशद्वारमा स्थानीयले पदयात्रीलाई भव्य स्वागत गरे।
पञ्चेबाजाको गुञ्जनले स्वागतलाई औपचारिकतामा सीमित राखेन, त्यसले पाहुनाको मनमा गाउँप्रतिको पहिलो आत्मीय छाप कोरिदियो। पहाडको काखमा बजेको पञ्चेबाजाले मानौँ सन्देश दिइरहेको थियो, ‘यहाँ आउनुहोस्, हाम्रो भूगोल हेर्नुहोस्, हाम्रो संस्कृति बुझ्नुहोस् र हाम्रो आत्मीयतालाई अनुभूत गर्नुहोस्।’
पर्यटनको पहिलो आधार गन्तव्यको सुन्दरता हो, तर पर्यटकको मन जित्ने शक्ति त्यहाँका मानिसको व्यवहारमा पनि भर पर्छ। राज्यपोखरीमा पाएको स्वागतले यही सत्यलाई जीवन्त बनायो। स्थानीयको आतिथ्य, युवा क्लबको व्यवस्थापन र सामूहिक सहभागिताले यात्राको प्रारम्भलाई नै उल्लासमय बनाइदियो। कुनै गन्तव्यको परिचय त्यहाँ पुगेर देखिने दृश्यले मात्र दिँदैन, त्यहाँ पुग्दा महसुस हुने अपनत्वले त्यसलाई स्मरणीय बनाउँछ।
यही आत्मीयता तेबाङको पर्यटन विकासको एउटा महत्त्वपूर्ण पुँजी बन्न सक्छ। भौतिक पूर्वाधारले पर्यटकलाई गन्तव्यसम्म पुर्याउँछ, तर संस्कार, आतिथ्य र मानवीय सम्बन्धले उसलाई फेरि फर्केर आउन प्रेरित गर्छ।
मालारानीको ‘ढुङ्गे हिमाल’देखि भैँसीपुरेको सांस्कृतिक रातसम्म
मालारानी शान्तिवाटिकामा रहेको कलात्मक ‘ढुङ्गे हिमाल’ले प्रकृति र सिर्जनाबीचको सम्बन्धलाई सम्झायो। ढुङ्गाको आकारमा उभिएको कलाले निर्जीव वस्तुलाई पनि कल्पनाको जीवन दिन सक्दो रहेछ।
प्राकृतिक भूगोलभित्र मानवीय सिर्जनशीलता मिसिँदा कुनै ठाउँ केवल हेर्ने स्थल रहँदैन, अनुभूति गर्ने गन्तव्य बन्छ। सशस्त्र युद्धताका तेबाङबाट ज्यान गुमाएकाहरूको सम्झनामा निर्माणाधीन ‘सहिद’ पार्कले छुट्टै अनुभव गराउँछ।
साँझपख भैँसीपुरे डाँडामा गुञ्जिएको रात्रिकालीन सांगीतिक कार्यक्रमले यात्रामा अर्को रङ थप्यो। दिनको उज्यालोमा पहाडको दृश्य हेरेका आँखाले रातको आकाशमुनि गीत, सङ्गीत र नृत्यको संसार भेटे।
पृथ्वी डाँगीको सञ्चालन, टेकेन्द्र सेनको सिर्जनात्मक नृत्यनिर्देशन र तेबाङवासीको उत्साहपूर्ण सहभागिताले ‘भैँसीपुरे रात’लाई सांस्कृतिक उत्सवमा रूपान्तरण गरिदियो। रोल्पा कला घरको टोलीले साँझलाई भरपूर मनोरञ्जन दियो।
समय फेरिए पनि गीत र सङ्गीतको सामूहिक ऊर्जा मर्दो रहेनछ। पुस्ता बदलिन्छन्, जीवनशैली बदलिन्छ, तर मानिसलाई एकै ठाउँमा उभ्याउने सांस्कृतिक शक्ति उस्तै जीवन्त रहन्छ। भैँसीपुरे डाँडामा त्यो शक्ति देखियो। त्यहाँ मनोरञ्जन मात्र थिएन, साहित्यिक सिर्जना थिए, विचार थिए अनि सामूहिक उत्साह र सांस्कृतिक निरन्तरताको जीवन्त अभिव्यक्ति थियो।
स्थानीय कला, गला र संस्कृतिले त्यो स्तरको सांस्कृतिक साँझ अबदेखि तेबाङवासीले प्रस्तुत गर्न सक्ने हो भने यहाँ आउने पर्यटकलाई पक्कै आकर्षित गर्न सकिन्छ। यहाँको प्राकृतिक दृश्यसँग स्थानीय गीत, नृत्य, मौलिक भेषभूषा, परम्परागत बाजागाजा र खानपानलाई जोड्न सकियो भने पर्यटकले दृश्य मात्र होइन, एउटा जीवन्त संस्कृति अनुभव गर्न पाउँछन्। यस्तो पर्यटनले गाउँको पहिचान जोगाउँछ, स्थानीय कलाकारलाई अवसर दिन्छ र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्छ।
पर्यटनको बहस
२०५९ वैशाख १९ गते तत्कालीन शाही नेपाली सेना र तत्कालीन माओवादीका ‘जनमुक्ति सेना’ बीच भिडन्त भएको लिस्ने लेकको विरासत छ। यो लेकसँग जोडिएका अनेक बिम्ब र ऐतिहासिक मिथक त छँदै छन्। भैँसीपुरेको सांस्कृतिक उत्सवबीच पर्यटन विकासको एउटा महत्त्वपूर्ण प्रश्न पनि उठ्यो-लिस्नेलाई रोल्पाका अन्य पर्यटकीय गन्तव्यसँग कसरी जोड्नेरु कसरी एउटा ठाउँको आकर्षणलाई समग्र जिल्लाको पर्यटन विकाससँग गाँस्नेरु यस विषयमा मलाई परिचर्चा गर्ने अवसर आयोजकले मिलाउनुभएको थियो।
सांस्कृतिक माहोलमा झुमेका बेला मेरो अवधारणाप्रति चासो नरहला कि भन्ने चिन्ता ममा थियो। तर, मैले राखेको अवधारणाप्रति स्थानीयले देखाएको चासोले तेबाङवासी पर्यटन विकासप्रति उत्सुक र लालायित रहेको सङ्केत गर्दथ्यो। यो चासो आफैँमा सकारात्मक सम्भावना हो। किनकि पर्यटनको दिगो विकास बाहिरबाट योजना ल्याएर मात्र सम्भव हुँदैन। त्यसका लागि स्थानीय समुदायको अपनत्व, सहभागिता र नेतृत्व आवश्यक हुन्छ।
लिस्नेलाई छुट्टै गन्तव्यका रूपमा प्रचार गर्नु महत्त्वपूर्ण छ, तर त्यसलाई रोल्पा र प्युठानका अन्य पर्यटकीय स्थलसँग जोड्न सके यसको सम्भावना अझ फराकिलो हुन सक्छ। पर्यटकीय पदमार्ग, स्थानीय आवास, होमस्टे, सूचना केन्द्र, सङ्केतचिह्न, सरसफाइ, सुरक्षित यात्रा, डिजिटल प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणलाई योजनाबद्ध रूपमा अघि बढाउन सकिन्छ।
लिस्ने पुग्ने पर्यटकले आसपासका अन्य स्थल पनि घुम्ने अवसर पाए भने यात्राको अवधि बढ्न सक्छ। बसाइ लम्बिँदा स्थानीय खाना, आवास, यातायात, हस्तकला तथा कृषि उत्पादनको माग बढ्न सक्छ। त्यसले पर्यटनलाई दृश्यावलोकनको गतिविधिबाट स्थानीय आम्दानी र रोजगारी सिर्जना गर्ने आर्थिक आधारमा रूपान्तरण गर्न मद्दत गर्छ।
यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारमाध्यम तथा समुदायबीच सहकार्य आवश्यक छ। पर्यटन करिडोरको अवधारणालाई सम्भाव्यता अध्ययन, स्पष्ट मार्गचित्र, आवश्यक पूर्वाधार र बजेटसँग जोड्न सकियो भने लिस्ने एउटा एक्लो गन्तव्यबाट फराकिलो पर्यटकीय सञ्जालको महत्त्वपूर्ण बिन्दु बन्न सक्छ।
उकालो उमङ्ग
असोज २६ गते बिहान लिस्नेको उकालो यात्रा सुरु भयो। तर, मेरो यात्रा यहीँबाट अन्त्य भयो। पहाडको उकालोले शरीरको सामर्थ्य जाँच्छ, तर गन्तव्यको उत्साहले थकानलाई पछाडि धकेल्छ। लिस्नेको टाकुरा चुम्नेहरूले मसँग यस्तै अनुभव साट्नुभयो, “प्रत्येक पाइलासँगै उकालो नजिकिँदै जाँदा यात्रुहरूको मनमा शिखर पुग्ने उत्कण्ठा बढिरह्यो। अन्ततः शिखरमा पुग्दा आँखाअघि खुलेको विशाल भूगोलले यात्राको थकानलाई विस्मयमा बदलिदियो।”
त्यहाँबाट देखिने प्युठानका विशाल भूभाग, डाँडाकाँडा, बस्ती र भञ्ज्याङहरू प्रकृतिले आफ्नै क्यानभासमा पोतेका रङजस्ता देखिन्थे। कतै हरिया पहाडका तह, कतै टाढासम्म फैलिएका बस्ती, कतै आकाशलाई छुन खोजेजस्ता डाँडाका चुचुरा-लिस्नेको उचाइमा उभिँदा प्रकृतिको विराटता आँखाले मात्र होइन, मनले पनि महसुस गर्दो रहेछ।
लिस्नेको सौन्दर्यलाई शब्दमा बाँध्न खोज्नु भनेको क्षितिजलाई मुठीमा अटाउन खोज्नुजस्तै हो। त्यहाँ पुगेर हेर्ने दृश्यलाई तस्बिरमा कैद गर्न सकिन्छ, तर हावाको स्पर्श, उचाइमा उभिँदाको रोमाञ्च, टाढा फैलिएको भूगोलले जगाउने विस्मय र मनमा पैदा हुने शान्तिलाई तस्बिरले मात्रै समेट्न सक्दैन।तर, लिस्ने केवल प्राकृतिक सौन्दर्यको शिखर मात्र रहेनछ।
यसले ‘जनयुद्ध’कालीन इतिहासका पदचाप पनि बोकेको रहेछ। यहाँ उभिँदा भूगोल दृश्यका रूपमा मात्र देखिँदैन-समय, सङ्घर्ष र स्मृतिको साक्षीका रूपमा पनि अनुभूत हुन्छ। इतिहासका यस्ता स्थललाई पर्यटनसँग जोड्दा तिनको तथ्यपरक अभिलेखीकरण, ऐतिहासिक सन्दर्भको संरक्षण र संवेदनशील प्रस्तुतिलाई उत्तिकै महत्त्व दिनुपर्छ।
प्रकृतिको आकर्षण र इतिहासको स्मृतिलाई सन्तुलित रूपमा उजागर गर्न सकियो भने लिस्नेको परिचय अझ गहिरो र विशिष्ट बन्न सक्छ। तत्कालीन भिडन्तबारे मैले स्थानीय लालबहादुर रोकासँग लामो भलाकुसारी गरेको थिएँ। उहाँजस्ता अनुभवी व्यक्तिले व्यक्त गरेका तथ्यहरूको सङ्ग्रह र दस्तावेजीकरण पनि आवश्यक हुन्छ।
शिखरमा साहित्यिक गुञ्जन
लिस्ने यात्राको अर्को अविस्मरणीय उपलब्धि शिखरमा आयोजित ‘साहित्यिक गुञ्जन’ पनि हो। तीन दर्जनभन्दा बढी स्रष्टाका सिर्जना सुन्नु र प्रकृतिको विराट काखमा शब्द तथा संवेदनाका स्वर अनुभव गर्नु आफैँमा अनुपम अवसर हो।
पहाडहरू श्रोता बनेर उभिए, बतासले कविताका हरफ बोकेर क्षितिजतिर उडाइरह्यो र लिस्ने स्वयं सिर्जनाको जीवन्त पृष्ठ बन्यो। प्रकृतिको निःशब्दताभित्र कविता गुञ्जिँदा शब्दले नयाँ अर्थ पाउँछन्। सामान्य परिवेशमा पढिएका पङ्क्तिहरू पहाडको उचाइ, हावाको स्पर्श र खुला आकाशमुनि सुन्दा मनभित्र फरक ढङ्गले प्रतिध्वनित हुन्छन्।
साहित्यकार डीबी टुहुरोको संयोजन तथा सहजीकरण र सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको सर्जकहरूप्रतिको उत्प्रेरक मन्तव्यले साहित्यिक गुञ्जनलाई थप अर्थपूर्ण बनाएछ। साहित्यकारहरूका शब्दले प्रकृतिलाई अनुभूतिमा बदले, प्रकृतिले सिर्जनालाई परिवेश दियो र सामूहिक उपस्थितिले त्यसलाई उत्सव बनायो।
वास्तवमा साहित्यिक पर्यटनको सम्भावना यहीँनेर छ। कुनै पर्यटकीय स्थलमा पुगेर दृश्य हेर्नु एउटा अनुभव हो, त्यही ठाउँमा कविता, गीत, कथा वा सांस्कृतिक प्रस्तुति अनुभव गर्नु अर्को आयाम हो। यस्ता गतिविधिले पर्यटकको बसाइलाई अर्थपूर्ण बनाउन सक्छन् र गन्तव्यलाई सिर्जनात्मक पहिचान दिन सक्छन्।
लिस्नेमा नियमित साहित्यिक उत्सव, सिर्जना शिविररकार्यशाला, प्रकृति पदयात्रा तथा स्थानीय इतिहाससम्बन्धी अध्ययन कार्यक्रम सञ्चालन गर्न सकियो भने यो स्थल प्रकृतिप्रेमीका लागि मात्र होइन, साहित्य र कलामा रुचि राख्नेहरूका लागि पनि आकर्षक गन्तव्य बन्न सक्छ।
त्यसो त तेबाङ प्रकृति, संस्कृति र मानवीय आत्मीयताको सङ्गम पनि हो। तेबाङको विशेषता प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। यहाँको संस्कृति, इतिहास, सिर्जनशीलता र मानवीय आत्मीयताले यस क्षेत्रलाई अझ विशिष्ट बनाउँछन्। राज्यपोखरीमा गरिएको स्वागत, मालारानीको कलात्मक आकर्षण, भैँसीपुरेको सांस्कृतिक उत्सव र लिस्नेको साहित्यिक गुञ्जनलाई एउटै सूत्रमा उन्ने हो भने तेबाङ एउटा सम्भावनायुक्त पर्यटन क्षेत्रका रूपमा देखा पर्छ।
यसको विकासका लागि स्थानीय मौलिकतालाई संरक्षण गर्दै पर्यटकमैत्री सुविधा विस्तार गर्न आवश्यक छ। स्थानीयस्तरमा उपलब्ध आवास र खानपानको व्यवस्था, पदमार्गको पहिचान, सुरक्षित यात्रा, सरसफाइ, फोहोर व्यवस्थापन, प्राथमिक उपचार, सूचना पाटी र डिजिटल नक्साजस्ता आधारभूत सुविधाले पर्यटकको अनुभवलाई सहज बनाउन सक्छन्।
त्यस्तै, स्थानीय युवालाई पर्यटनसम्बन्धी तालिम, गाइड सेवा, आतिथ्य व्यवस्थापन, डिजिटल प्रचारप्रसार र उद्यमशीलतासँग जोड्न सके पर्यटन विकासको लाभ गाउँमै रहन सक्छ। स्थानीय कला, संस्कृति र परम्परागत सीपलाई पर्यटकीय गतिविधिसँग जोड्दा नयाँ पुस्तामा आफ्नो पहिचानप्रतिको गर्व पनि बढ्न सक्छ।
पर्यटन विकास भनेको धेरै पर्यटक भित्र्याउनु मात्र होइन, पर्यटकको आगमनले स्थानीय प्रकृति, संस्कृति र जीवनपद्धतिमा नकारात्मक असर नपर्ने गरी अवसर सिर्जना गर्नु पनि हो। त्यसैले तेबाङ र लिस्नेको विकास स्थानीय समुदायको नेतृत्व, वातावरणीय संवेदनशीलता र दीर्घकालीन योजनाका आधारमा अघि बढ्नुपर्छ।
आठबुँदे घोषणापत्र
दुईदिने यात्रा, सांस्कृतिक उत्सव र साहित्यिक गुञ्जनपछि सनस्टार युवा क्लबले आठबुँदे घोषणापत्र जारी गर्यो। घोषणापत्रले लिस्नेको पर्यटन प्रवर्द्धनलाई मात्र नभई साहित्य, कला–संस्कृति, सञ्चार तथा प्रविधिको विकास र युवाहरूको सामाजिक परिचालनलाई पनि प्राथमिकतामा राखेको छ।
लिस्ने लेकलाई रोल्पा र प्युठानको सिमानामा पर्ने महत्त्वपूर्ण आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, जिल्लाका विभिन्न पर्यटकीय स्थललाई जोड्ने पर्यटन करिडोर निर्माणका लागि राज्य र निजी क्षेत्रसँग सहकार्य गर्ने तथा जिल्लाभरका युवा क्लब र समूहलाई साझा संस्थागत अभियानमा आबद्ध गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएका छन्।
त्यसैगरी, साहित्य, पर्यटन, कला–संस्कृति र सञ्चार–प्रविधिको संयोजनमार्फत समाज रूपान्तरणमा योगदान पुर्याउने तथा यात्राका क्रममा देखिएका कमजोरी र सिकाइलाई आगामी कामको सुधारको आधार बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। घोषणापत्र जारी गर्नु अभियानको एउटा महत्त्वपूर्ण चरण हो, तर यसको वास्तविक सफलता कार्यान्वयनमा निर्भर हुन्छ।
पर्यटन विकासका सम्भावनाको अभिलेखीकरण, प्राथमिकताका आधारमा कार्ययोजना निर्माण, सम्बन्धित निकायसँग समन्वय र उपलब्धिको नियमित समीक्षा गर्न सकियो भने यस घोषणापत्रले व्यवहारमा परिवर्तन ल्याउन सक्छ। घोषणापत्रले सार्थकता पाउने नै छ।
स्मृतिमा लिस्ने
त्यहाँ पुग्ने जो कोहीको स्मृतिमा लिस्ने सदा रहिरहनेछ। किनकि यात्राले दृश्यहरू मात्र दिँदैन, स्मृतिको गहिराइ र अनुभूतिको फराकिलो आयाम पनि थपिदिन्छ। राज्यपोखरीको स्वागतद्वारमा गुञ्जिएको पञ्चेबाजादेखि पदयात्रीको भोजनरखाजा व्यवस्थासम्म, भैँसीपुरे डाँडाको सांगीतिक रातदेखि मालारानीको ‘ढुङ्गे हिमाल’सम्म र लिस्नेको उचाइमा सुनिएका सिर्जनासम्मका हरेक क्षणले एउटै सन्देश सुनाइरहनेछन् । कुनै ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने काम प्रकृतिले मात्र गर्दैन, त्यहाँका मानिसको सपना, सिर्जना, आतिथ्य र सामूहिक प्रयासले पनि गर्छ।
तेबाङ- लिस्नेमा पर्यटनको प्रचुर सम्भावना छ। तेबाङमा सांस्कृतिक ऊर्जा छ। स्थानीय समुदायमा आतिथ्य र सहभागिताको भावना छ। युवाहरूमा जोस छ, जनप्रतिनिधिमा सोच अघि बढेको छ। यी सबैलाई योजनाबद्ध रूपमा जोड्न सके लिस्नेसँगसँगै रोल्पाको पर्यटन विकासले नयाँ दिशा लिन सक्छ। अन्त्यमा, कवि प्रेमप्रकाशले उल्लेख गरेझैँ, ‘एकपटक पुगेर मात्र चित्त नबुझ्ने, फेरि पुगूँपुगूँ लागिरहने’ सुन्दर गन्तव्य बनोस् तेबाङ–लिस्ने।


