हरित अनि सफा विद्यालयको शैक्षिक वातावरण कसलाई मन नपर्ला ! विद्यालयमा हरियालीले विद्यालयको सौन्दर्यता मात्र बढाउँदैन, विद्यार्थीलाई रम्ने र पढ्ने अवस्था समेत सिर्जना गर्छ । के हाम्रा विद्यालय साँच्ची हरियाली र सफा छन् त ? के अब हरियाली र सफा बनाउन सकिदैन ? अवश्य सकिन्छ । यहीँ सन्देश दिन एक वर्षको हुँदा नै पोलियोका कारण दुवै खुट्टाको अपांगता भएका एक युवा हरियाली र सफा मेरो विद्यालय अभियानमा छन्। विद्यालयमा हरित अभियान लिएर रोल्पा आएको सन्दर्भमा विरेन्द्र नगर सुर्खेत स्थायी ठेगाना भएका ३३ वर्षीय किरणकिशोर सापकोटसँग जनआकांक्षा साप्ताहिकले गरेको कुराकानीको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
पेशा व्यवसायको रुपमा कहाँ आवद्ध हुनुहुन्छ ? के गर्नुहुन्छ ?
मैले पार्ट टाइमको रुपमा प्लस टु का विद्यार्थीहरूलाई अर्थशास्त्रका विषय पढाउँछु । शिक्षण पेशामा आवद्ध छु । यो सँगै विद्यालयमा ‘माई ग्रीन एण्ड क्लिन स्कुल’ (हरित र सफा मेरो विद्यालय) भन्ने अभियान छ । त्यस अभियानमा व्यस्त छु ।
यो अभियानको बारेमा बताइदिनुहोस्न ?
ग्रीन एण्ड क्लिन स्कुल लगभग आठ वर्ष अगाडि थालनी भएको अभियान हो । सामाजिक काममा मलाई सानैदेखि उत्प्रेरणा आइरहने भएको हुनाले गाउँमा विद्यालयमा सानो क्याम्प थियो ।
त्यो विद्यालयमा एक जना अपाङ्गता भएको नानी हुनु हुँदो रहेछ । उहाँको आमाले छोरीलाई सेक्नका लागि आगोमा तेल राख्नुभएको रहेछ । आमा निदाउनु भएछ । बच्चाको खुट्टा आगोमा परेको रहेछ र त्यसरी खुट्टा काटिएको रहेछ । ति नानीसँग मेरो भेट हुन पुग्यो । त्यो नानीलाई सहयोग गर्दा म डिग्री पढिरहेको थिएँ । त्यहाँ स्कलरसिपमा विद्यालयमा पुगे ।
विद्यालय स्थापना भएको ३० वर्ष पुगिसकेको थियो । तर, विद्यालय वरिपरि एउटा पनि बिरुवा थिएन । मलाई भित्रबाट यसमा केही गर्नुपर्दछ भन्ने भयो । यससँगै हरित विद्यालय अभियान सुरु भयो ।
त्यसपछि विस्तारै विस्तारै मैले विद्यालयमा जाँदै ग्रीन क्लब बनाउँदै, बिरुवा रोप्दै, बिरुवाको महत्व सिकाउदै, फेरी जलवायु साक्षरता अभियानमा जोडिदै विभिन्न विद्यालयलाई साक्षरता अभियान, जलवायु साक्षरतामा जोड्ने प्रयास गरेँ । फेरी केही समयपछि स्वरुप बदल्नका लागि ग्रीन एण्ड क्लिन रेजिलेन्स स्कुल भन्ने अवधारणामा लागियो ।
यसको अर्थ के छ भने स्कुल सफा हुनुपर्छ, त्यहाँको शौचालय सफा हुनुपर्छ, त्यहाँको पानी शुद्ध हुनुपर्छ, प्लाष्टिकहरुको प्रयोग कम गरिनुपर्छ भन्ने हो । र रेजिलेन्स स्कुल हामी विद्यार्थी भैसकेपछि हामी भविष्यको नीति निर्माता नै हामी हो । जलवायु परिवर्तनलाई हामी शून्यमा झार्न सक्ने अवस्था हुँदैन ।
अभियानले बालबालिकालाई भविष्यप्रति पनि र आजको बालबालिकालाई जलवायु परिवर्तन, वातावरण संरक्षण र सरसफाइ सम्बन्धी अभियानमा जोड्न अनुरोध गर्दछ । र सिंगो राष्ट्रलाई हरित बनाउन मद्दत गर्ने छ ।
यहाँ अपाङ्गता क्षेत्रबाट पनि प्रतिनिधित्व गर्नुहुन्छ । तपाईको अपाङ्गता कस्तो प्रकृतिको हो र यो तपाई जन्मदै भयो या कसरी यस्तो हुन पुग्यो ?
मलाई एक डेढ वर्षको उमेरमा पोलियो भएको रहेछ । पोलियो भएपछि सुरुमा अलि हिड्न गाह्रो हुने । दाइ, बुबा र आमाले स्कुलमा बोकेर पु¥याउनुपर्ने, स्कुलमा राखिदिने फेरी पछि पनि लिन जानुपर्ने, कहिलेकाहीँ हातको सहायताले पनि हिड्नुपर्ने हुन्थ्यो । शिक्षाको चेतनाले सम्पूर्ण परिवारको सहयोगले पनि म अहिले थोरै भएपनि हिड्न सक्ने भएको छु ।
विद्यायल हरित र सफा अभियानकै रुपमा लैजानुपर्छ भन्ने सोच कसरी आयो ?
यसमा मेरो लर्निङ वाइ डुइङ (गर्दै सिक्दै) भयो । मेरो सुरुकै योजनामा विद्यालयलाई हरित बनाउने थियो । त्यहीँ विद्यालयमा गेटमा १२र१२ पटक धुपी लगाएँ । १२ पटकसम्म चोरिदा पनि मैले लगाउन छोडिन । त्यसपछि मेरो यसमा कन्सेप्ट क्लियर हुँदै गयो । हैन यसलाई अझै विस्तार गर्दै जानुपर्छ भन्ने भयो ।
म बालबालिकाहरुसँग खेल्ने, सरसफाईका अभियानहरु सिकाउने, ग्रीन स्कुलको बारेमा सिकाउने, प्लाष्टिक, जङ्कफुड विरुद्धको बारेमा, जलवायु साक्षरताको बारेमा मैले पढ्न पनि पाएँ र मैले पढेको कुरा बालबालिकालाई सिकाउन पनि पाएँ । यसरी पढ्दा पढ्दा मैले सुरुमा भएको कन्सेप्टलाई अहिलेसम्म निरन्तरता दिदै आएको छु । म रोल्पा आउँदा खेरी यहाँको रैथाने बिरुवा सकेसम्म प्रयोग गर्न खोजेको छु ।
पारिस्थितिक प्रणालीको लागि कम्तिामा पनि यहीँ उत्पादन भएको रैथाने विरुवाहरु लगाउनुपर्छ भन्ने छ । इकोसिस्टमको पनि कुरा भयो । काम गर्दै जादा यसैमा इनोभेटिक तरिकाले केही अनुसन्धान जस्ता काम गरिरहदा अभियान थप विस्तार हुँदै गएको छ । सुरुमै मेरो योजना एउटा विद्यालय बनाउने थियो । आज म लगभग सय स्कुलमा पुगे।
भारतको राजस्थानमा पनि पुगेँ अयोध्या गाउँ पुगे इण्डियाका दुईटा स्कुलमा पनि पुगे । केही साताअघि बाजुरा पनि पुगेँ । मलाई बाजुरा पुग्न मेरो शारिरिक अवस्थाले कठिनाइ थियो । बाजुरादेखि लिएर म्याग्दी बाग्लुङ सहित देशका २२ जिल्ला पुगिसक्यो यो अभियान । यसलाई भित्रबाट शक्ति आउँछ । मलाई लाग्छ कि त्यो गर्छु भनेपछि सकिन्छ ।
रोल्पा पुग्नुपर्छ भन्ने सोच कसरी आयो ?
सुर्खेतबाट निस्कदा मेरो गन्तव्य भनेको रोल्पा थियो । रोल्पा लिबाङ थियो । रोल्पा ’जनयुद्ध’ भएको ठाउँ भनेर चिनिन्छ । रोल्पाको यो ठाउँमा आउन र यो अभियानमा जोड्न चासो थियो ।
लुम्बिनी प्रदेशको विकट पहाडी जिल्ला रोल्पा । रोल्पाको के छ भनेर मेरो लागि अध्ययन गर्ने, यहाँको विरुवाहरुसँग माझिने र यहाँको बस्तु स्थिति बुझ्न पनि हुन्छ भन्ने थियो । त्यही भएर आएँ ।
कतिपयले दातृनिकाय सहयोगमा अभियान चलाएर आउने देखिन्छन् । तपाईले कसरी अभियान चलाईरहनु भएको छ ?
यसमा मेरो स्वर्गीय आमाको ठुलो देन छ । र, बुवाको पनि सहयोग छ । आमा बित्नुभन्दा पहिले मेरो लागि थोरै आर्थिक राख्दिुन भएको रहेछ । त्यसबाहेक थोरै मैले पार्टटाइम पढाउछु । त्यसबाट तलब आउँछ । व्यक्तिगत खर्चमै यो अभियान चलाईरहेको छु । मैले आफुले समाजको लागि गर्नुपर्छ भन्ने लाग्छ ।
धेरै साथीहरुले एनजीओ दर्ता गरेर गर्नुपर्छ भन्ने पनि गर्छन् । भविष्यमा त्यसलाई पनि सोच्न सकिने हुन सक्छ । तर अहिले चाहीँ मैले के दिए त समाजलाई भन्ने हो । यसमा मेरो परिवार साथीभाईको हौसलाले हो । मैले सिक्न पाएको छु । सबभन्दा ठुलो कुरो यस अभियानबाट धेरै व्यक्तिलाई चिन्ने अवसर पाएको छु । विभिन्न जिल्लाको संस्कृति, इकोसिस्टम बुझ्न पाएको छु । यसले मलाई प्लस प्इन्ट गरेको छ ।
तपाई यो अभियानमा जोडिदै गर्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
धेरै ठाउँमा सकारात्मक छ । पहिला पहिला सुरुको अवस्था अप्ठ्यारो थियो । गर्नुपर्छ भन्ने थियो । पछि हरित विद्ययालय भनेर जलवायु साक्षरता अभियान चलाइसकेपछि विद्यार्थीहरुलाई सिकाएछि यो अभियान राम्रो रहेछ । हरित विद्यालय आजको आवश्यकता रहेछ भनेर सबै विद्यालयमा हामी गईरहेको अवस्थामा विद्यालयमा राम्रै सहयोग भैरहेको अवस्था छ ।
अभियानलाई आगामी दिनमा कसरी लैजाने सोच बनाइरहनु भएको छ ?
सबैको माग हो, मेरो धेरै महत्वकाक्षीं योजना पनि हुँदैन । सबैले हरित विद्यालय बनाउनु हुनेछ भन्ने अपेक्षा छ । रोल्पाको सबै सामुदायिक विद्यालय र यहाँ भएका प्राइभेट स्कुलहरुले पनि विद्यालय हरित बनाउनुभयो भने त्यो विद्यालयमा मात्र नभएर सबै हरियाली हुन्छ ।
हामी मानवले विगारेको प्रकृति हो र हामी मानवले सपार्नुपर्छ । त्यसकारण यसरी यो सूचना सञ्चार प्रविधिबाट फैलिएर सबै विद्यालय हरित बनुन् । मैले यो आफ्नो क्षमताले भ्याएसम्म, बलवुताले भ्याएसम्म गरिरहेको छु । हेरौँ म कहाँँ सम्म पुग्छु ।
तपाई अपाङ्गता भएको हिसाबले तपाई प्रेरणाको स्रोत पनि हो ।
अपाङ्गता भएकाहरुको लागि तपाईको सन्देश के छ ?
अपाङ्गता मेरो जिवनको अनुभव हो । मैले अनुभव लिएको हो । अपाङ्गता अहिले जोकोही एक्कासी कुनैपनि कारणवश अपाङ्गता हुनसक्छ । म शारिरिक रुपमा अपाङ्गता हो मानसिक रुपमा नहुन सक्छु । यो अपाङ्गताले मलाई बलियो बनाएको छ । निरन्तर प्रयास, खोज अनुसन्धान, अध्ययनले वृद्धि विकास हुन्छ । हामी वृद्धि भन्दा पनि विकासतिर जोडिनुपर्ने हुन्छ । यसले गर्दाखेरी हामीलाई विकास हुन्छ । मेरो अपाङ्गता मैले ग्रहण गर्ने हो । यसमा जुध्ने मैले हो । यसलाई मैले इमपावरको रुपमा लिन सक्छु । यसलाई अवसरको रुपमा हेरेको छु ।


