लोकसेवा टिप्स (विषयगत प्रश्नोत्तर)

१. विश्व मान चित्रमा नेपालको अवस्थितिबारे उल्लेख गर्दै भूपरिवष्टितका कारण नेपालले भोग्नु परेका समस्याहरु संक्षपमा लेख्नुहोस् ।

उत्तर: विश्वमा सगरमाथाको देश, वुद्धको जन्मभूमी, शान्तीको देश तथा विशिष्ट झण्डाको देश समेत भनेर चिनिने नेपाललाई विश्व मान चित्रमा निम्नानुसार उल्लेख गर्न सकिन्छ :-

– नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशसम्म र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर बीच फैलिएर रहेको छ ।

– नेपालको क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर रहेको छ । जुन विश्वको ०.०३ प्रतिशत, एशिया महादेशको ०.३ प्रतिशत र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग पर्न आउँछ ।

–  क्षेत्रफलका हिसाबले विश्वको ९२ औँ स्थानमा पर्ने नेपाल समुद्रि सतहबाट ११२७ किलो मिटरको दुरीमा रहेको छ । नेपाल समुद्रि सतहबाट ५९ मिटरदेखि ८८४८.८६ मिटर सम्मको उचाईमा रहेको छ ।

– नेपालको उत्तरी सीमाना चीनको स्व:शासित क्षेत्र तिब्बतसँग र अन्य तीन तिरको सीमाना भारतका पाँचवटा प्रदेशसँग जोडिएको एक (Buffer State) एवं भूपरिवेष्टित राष्ट्र हो ।

–  नेपालको पूर्व पश्चिमऔषत लम्बाई ८८५ किलोमिटर र  औषत चौडाई १९३ किलोमिटर रहेको छ । बढीमा २४१ किलोमिटर चौडाई रहेको छ, भने घटीमा १४५ किलोमिटर चौडाई रहेको छ ।

– धरातलीय स्वरुपका आधारमा नेपाललाई हिमाल, पहाड र तराई गरी ३ वटा प्रदेशमा विभाजन गरिएको छ, भने राजनीतिक तथा प्रशासनिक हिसाबले ७ वटा प्रदेशमा विभाजन गरिएको छ ।

– नेपालको प्रामाणीक समय ग्रिनबीच समय भन्दा ५ घण्टा ४५ मिनेट अगाडि रहेको छ । जुन गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानेर वि.स. २०४२ साल वैशाख १ गते निर्धारण गरिएको थियो ।

भूपरिवेष्टितका कारण नेपालले भोग्नुपरेका समस्याहरुः–

– समुद्रबाट प्राप्त हुने बहुमूल्य खजिज धातुबाट बन्चितहुनु ।

– जलमार्गको अभावमा अन्तर्राष्ट्रिय व्यापारमा पछाडि पर्नु ।

– सस्तो जलयातायातको सुविधाबाट बन्चितहुनु ।

– छिमेकी देशले नाकाबन्दी गरेमा विकास निर्माण कार्य समेत अवरुद्ध हुन सक्ने ।

– सिमा सुरक्षा बढी खर्चिलो हुनु।

–  गरिबी तथा बेरोजगारीको समस्या सिर्जना हुनु।

– अपराधमा वृद्धि हुनु ।

–  अपराधि सजिलै फरार हुनसक्नु ।

विश्व मान चित्रमा एक भूपरिवेष्टित राष्ट्रका रुपमा रहेको नेपाल क्षेत्रफलका हिसाबले एक सानो मूलुक भए पनि यहाँको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यता भने प्रशंसा गर्न लाहेकको रहेको छ । विश्वका सर्वाेच्च शिखर सगरमाथा लगायत विश्वका ८००० मिटर भन्दा अग्ला८ वटा हिमाल नेपालमै रहेका छन, भने जलस्रोतका हिसाबले विश्वमै दोस्रो धनी देशका रुपमा रहेको छ । यहाँको प्राकृतिक स्रोत साधनलाई संरक्षणका साथ साथै भरपुर उपयोग गर्न सके नेपालको आर्थिक विकासमा उल्लेख्य योग्दान हुनसक्छ ।

२. राजनीतिक विभाजनको आधार र यसको महत्व लेख्नुहोस ।

उत्तर: राजनीतिक दृष्टिकोणबाट मुलुकलाई विभिन्न प्रदेश, प्रान्त, क्षेत्र, अञ्चल, जिल्ला, नगर, इलाका, तथा केन्द्र आदी प्रशासनिक इकाईमा विभाजन गर्ने कार्यलाई राजनीतिक विभाजन भनिन्छ । नेपालको संविधान (२०७२) जारी भए पश्चात नेपाललाई ७ प्रदेश, ७७ जिल्ला र ७५३ वटा स्थानीयतहमा विभाजन गरिएको छ । कुनैपनि मुलुकको राजनीतिक विभाजन गर्दा मुख्यतया पहिचान र सामर्थ्यलाई मुख्य आधारका रुपमा लिने गरिन्छ । राजनीतिक विभाजनको आधारलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः-

– भौगोलिक बनावट र जनसंख्याको स्थिति।

– ऐतिहाँसिकनिरन्तरता।

–  परम्परादेखि चलि आएको धर्म, रितिरिवाज र संस्कृति ।

– भौगोलिक तथा क्षेत्रगत निरन्तरता ।

– विकासका पूर्वाधारको विकासको अवस्था (जस्तैः खानेपानी, सडक, विद्युत आदी) ।

– प्राकृतिक स्रोत साधनको उपलब्धता ।

–  प्रादेशिक एकता र जातियएकता ।

–  प्रशासनिक सुगमता, दुर्गमता ।

– सामाजिक तथा सांस्कृतिक बनावट ।

राजनीतिक विभाजनको महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छः

– प्रशासनिक कार्यमा सघाउ पुर्याउन ।

– दुर दराजमा राज्यको उपस्थिति जनाउँन ।

– आर्थिक तथा सामाजिकअसमानताहरु हटाउन।

– विकेन्द्रिकरण प्रवद्र्धन गर्न ।

– विकास निर्माणका कार्यमा सहजता ल्याउन ।

– जनताको सरल पहुँचमा सेवा सुविधाहरु पुर्याउन ।

– देशको हरेक क्षेत्रमा समता मुलक विकास गर्न।

– प्रादेशिक तथा क्षेत्रीय सन्तुलन कायम राख्न ।

– स्रोतकाप्रतिफलको न्यायोचितवितरण गर्न ।

देशको जुनसुकै कुनामा सरकारको उपस्थिति जनाउनका लागि राजनीतिक विभाजन अपरिहार्य छ । तर कुनैपनि देशको राजनीतिक विभाजन गर्दा उपलब्ध स्रोत साधन र आर्थिक भार थाम्न सक्ने क्षमतालाई समेत विचार गरी गर्नु पर्दछ । आर्थिक क्षमताकम हुँदाहुँदै पनि आवश्यकता भन्दा बढी राजनीतिक तथा प्रशासनिक इकाईहरुको सिर्जना गर्नु हुँदैन ।


प्रस्तुतकर्ता : सुदिप डाँगी

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस